एक समयको कुरा हो, प्राचीन भारतको एक शान्त र रहस्यमय भूमिमा कालिदास नामक एक व्यक्ति बस्थे। उनी आफ्नो ज्ञान र कवितात्मक प्रतिभाको लागि प्रख्यात थिए। उनका शब्दहरूले आकाशलाई रुलाउन सक्थे, र उनका विचारहरू गम्भीर ज्ञानले भरिएका हुन्थे। तर समय बित्दै जाँदा, उनको मनमा अहंकारको छाया छिर्न थाल्यो। उनले आफ्नो बुद्धिलाई अतुलनीय ठान्न थाले, र आफ्नो ज्ञानलाई अद्वितीय मान्न थाले।
प्रचण्ड घामले धर्ति र वातावरण दुवै तप्त थिए, धुलोले भरिएको सानो गाउँको बाटो हिँडेपछि कालिदास प्यासले व्याकुल भएर थकित अवस्थामा पुगे। उनको घाँटी सुकेको थियो, र उनको शरीरले पानीको तिर्खा महसुस गरिरहेको थियो। उनी एक साधारण झोपडीतिर गए, जहाँ एक महिला आँगनमा बगैंचाको हेरचाह गरिरहेकी थिइन्, ति महिलाको उपस्थिति शान्त थियो, तर उनमा एक रहस्यमयता झल्किँदै थियो।
कालिदासले अलिकति अहंकारको स्वरमा भने, “हे महिला, म थकित र प्यासी छु, पिउनको लागि मलाई पानी देउ ।”
महिलाले तीक्ष्ण आँखाले उनलाई हेरीन् र भनिन्, “म अज्ञात व्यक्तिहरूलाई पानी दिँदिन, भन्नुहोस्, तपाईं को हुनुहुन्छ?”
कालिदासले अलिकति आश्चर्यचकित भएर भने, “म एक यात्री हुँ, यस विशाल संसारको भ्रमणकारी हुँ।”
महिलाले मुस्कुराउँदै भनिन्, “यात्री भन्नुहुन्छ? तर यस संसारमा केवल दुई वास्तविक यात्रीहरू छन् – १) सूर्य र २) चन्द्रमा। उनीहरू निरन्तर यात्रा गर्छन्, कहिल्यै आराम गर्दैनन्, कहिल्यै रोकिदैनन्। त्यसैले फेरी भन्नुहोस्, तपाईं को हुनुहुन्छ?”
कालिदासले फेरि प्रयास गरेर भने, “म एक अतिथि हुँ, तिम्रो आतिथ्य खोज्दै छु।”
महिलाले मृदु स्वरमा भनिन्, “अतिथि? यस संसारमा केवल दुई शाश्वत अतिथिहरू छन् – १) धन र २) यौवन। उनीहरू निमन्त्रणा बिना आउँछन् र जान समय लाग्दैन। अब त सहि भन्नुहोस्, तपाईं को हुनुहुन्छ?”
कालिदासले अलिकति असहज महसुस गर्दै भने, “म सहनशीलता हुँ। कृपया, अब त मलाई पानी देउ।”
महिलाको आँखामा ज्ञानको चमक देखियो। उनले भनिन्, “सहनशीलता भन्नुहुन्छ? तर, सहनशीलताका केवल दुई प्रतिकहरू छन् – १) धरती, जसले पापी र धर्मात्मा दुवैको भार बोक्छ, र २) रूख, जसले ढुङ्गाले हाने पनि मीठो फल दिन्छ। त्यसैले फेरी पनि मिलेन, भन्नुहोस्, तपाईं को हुनुहुन्छ?”
कालिदास विनम्र र निराश भएर भने, “म जिद्दी हुँ।”
महिलाले मृदु स्वरमा हाँस्दै भनिन्, “फेरि असत्य । जिद्दी दुई रूपमा हुन्छ – १) नङ र २) केश। तिनीहरूलाई जतिपटक काटेपनि, फेरि उम्रन्छन्। यसपटक आफ्नो सहि परिचय दिने कोशिस गर्नुहोस ।”
कालिदासले आफ्नो टाउको झुकाएर बोले, “म मूर्ख हुँ।”
महिलाको अनुहार नरम भयो, र उनले भनिन्, “होइन, तपाईं मूर्ख हुनुहुन्न। मूर्ख ती हुन् १) जो अहंकारको सिंहासनमा बस्छन्, आफ्नै ज्ञानले अन्धा भएका हुन्छन्, र २) उनका सल्लाहकारहरू जो शासकलाई खुशी पार्न उनीहरूको गलत कार्यहरूलाई पनि तर्क दिएर सही ठहराउने प्रयास गर्छन्।”

कालिदासले आफ्नो गल्ती महसुस गरे, र उनको अहंकार ढल्यो। उनले महिलाको खुट्टा समातेर याचना गर्दै भने, “म कालिदास हुँ।”
महिलाले मुस्कुराउँदै भनिन्, “उठ, कालिदास। वास्तवमा, म सरस्वती माता हुँ।”
कालिदासले माथि हेरे, त्यहाँ साक्षात् सरस्वती माता उभिनुभएको थियो। उहाको प्रकाशले आँगनलाई ज्योतिर्मय बनाएको थियो। उहाको मुखमण्डलमा दिव्य शान्ति र माधुर्य झल्किएको थियो । सरस्वती माताले कालिदासलाई भन्नुभयो “शिक्षाबाट ज्ञान प्राप्त हुन्छ, नकी अहंकारबाट। तिम्ले शिक्षाको बलबाट प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिंहासनमा बस्यौ। त्यसैले तिम्रो आँखा खोल्न मैले यो नाटक गर्नुपर्यो।”
कालिदासले अन्ततः पानी पिएर आफ्नो प्यास बुझाए। यसरी, उनले सिके कि “विद्वत्ता र विनम्रता सँगसँगै हुनुपर्छ, अहंकारले ज्ञानलाई नष्ट गर्छ।” त्यसैले हामीले पनि विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ ।
