
हामि सबैलाई थाहा छ पृथ्वीले सूर्यको परिक्रम गर्छ । हामी बसेको पृथ्वीलाई कुण्डली मानि पृथ्वीलाई स्थिर कल्पना गर्ने हो भने सूर्यले पृथ्वीको परिक्रम गर्छ । रेखाचित्रमा भएको बैंगनी (Purple) रंगको अण्डाकार वृत्त सूर्यले पृथ्वीको परिक्रम गर्दा हिड्ने बाटो हो, यो बाटो अण्डाकार (Elliptical) छ । सूर्यले पृथ्वीको परिक्रम गर्ने यो बाटोलाई भचक्र भनिछ, भचक्र ३६५.२४२२ दिनको हुन्छ, भन्नुको अर्थ सूर्यले पृथ्वीको परीक्रम गर्न ३६५ दिन, ५ घण्टा, ४८ मिनेट, र ४६ सेकेन्ड लगाउछ, त्यस्तै कुनै पनि बन्द आकार ३६० अंशको हुने हुदा भचक्रको अंशात्मक मान पनि ३६० अंश नै हुन्छ । निलो रंगको पूर्ण वृत्त कुण्डली हो, कुण्डलीलाई हरियो रंगको रेखाले १२ भागमा बराबर बिभाजन गरि १२ महिना या १२ भाव बनाइएको छ । सबै महिना ३० अंशको हुन्छ तर सबै महिनामा दिनहरुको संख्या बराबर हुदैन भन्ने कुरा यो रेखाचित्रले प्रष्ट पारेको छ । सूर्यले हरेक २४ घण्टामा भचक्रमा पार गर्ने भौतिक दूरी समान भएपनि भचक्र अण्डाकार हुनाले दैनिक अंशात्मक दुरी (अर्थात गति) घटबढ भैरहन्छ । कुण्डलीको आकार पूर्ण वृत हुनाले सबै विभाजनको अर्थात एउटा संख्याबाट अग्रिम संख्यासम्मको भौतिक दूरी बराबर छ तर भचक्रको आकार अण्डाकार हुनाले सबै विभाजनको अर्थात एउटा संख्याबाट अग्रिम संख्यासम्म भौतिक दूरी समान छैन ।
XY ग्राफमा देखाइएको अण्डाकार भचक्र हुबहु नभएर “महिनामा दिनहरुको संख्या कसरी घटबढ हुन्छ” भनी बुझाउन सजिलो होस भनेर मैले बनाएको काल्पनिक भचक्र हो, तर वास्तविक भचक्रको आकार मैले बनाएको भन्दा केही फरक हुन्छ । 0.5, 1.0, 1.5, -0.5, -1.0, -1.5 लेखी XY ग्राफको X-Axis र Y-Axis मा खगोलीय एकाइ (AU) मा स्केल बनाएको छु। 1 AU लगभग 0.0000158 प्रकाश वर्ष को हुन्छ भन्नुको अर्थ 1 AU मा लगभग 149,600,000 किलोमिटरको हुन्छ । सूर्य भचक्रको शून्य अंश (0°) मा हुनु भनेको वि.स. समाप्त भई नयाँ वि.स. प्रारम्भ हुनु हो । भचक्रमा अंश (अर्थात degree) बढ्दै जाँदा धेरै कुराहरूमा परिवर्तन हुन्छ, गते महिना वर्ष यसले नै तय गर्ने हुँदा अंश बढ्दा गते अग्रिम तर्फ सर्दै जान्छ, त्यस्तै कुण्डलीमा पनि सूर्य अग्रिम भाव तर्फ सर्दै जान्छ आदि । सरल भाषामा भन्नुपर्दा भचक्रमा डिग्री बढ्दै जानु भनेको यस धर्तीमा रहन हामीले पाएको आयु घट्दै जानु पनि हो । भचक्रमा ३६० अंश पुगेपछि पुन शून्य(0) अंशबाट अघितर्फ बढ्छ तर सूर्य सिद्धान्तिय अहर्गणमा यसको हिसाबकिताब दिनको रूपमा चुस्त दुरुस्त राखिएको हुन्छ । पृथ्वीलाई सूर्यले परिक्रम गर्छ भनेको आधारमा हाम्रो शास्त्र गलत भन्न मिल्दैन किनकि हामी बसेको पृथ्वीलाई स्थिर मान्दा सूर्य लगायत अन्य ग्रहले नै पृथ्वीलाई परिक्रम गरेको देखिन्छ । संसारमा स्थिर केही पनि छैन, क्षुष्म रूपमा हेर्ने हो भने स्थिर देखिने ढुङ्गापनि भित्र बाट असंख्य परमाणु र उपपरमाणुबाट चाल अवस्थामा हुन्छ । हुनत आधुनिक विज्ञानले स्थिर मानेको सूर्य पनि कहा स्थिर छ त? पृथ्वी लगायत अन्य सबै आफ्ना ग्रहहरू बोकेर सूर्य अन्नत ब्रह्माण्डमा घुमिरहेको हुन्छ । पुनश्च:- मैले सूर्य, चन्द लगायत अन्य ग्रहलाई वस्तु मानेर त सम्बोधन लाग्ने गरी लेखेको हु । म पनि हिन्दु हुँ त्यसैले यी ग्रहको अधिपति अर्थात यी आकाशीय पिण्डहरूसँग सम्बन्धित देवीदेवताहरू मेरो लागि पूजनीय हुनुहुन्छ । हाम्रो जमीन या घर सँग सम्बन्धित या त्यसको मालिक हामी भएजस्तै आकाशीय पिण्डहरु सँग सम्बन्धित या ती पिण्डहरूको अधिपतिको रूपमा देवीदेवताहरु हुनुहुन्छ ।
