
पौराणिक कालमा देवताहरूले एक लोकबाट अर्को लोकमा संवाद गर्थे, त्यस्तै चेतावनी, निर्देशन र भविष्यमा घटित हुने घटना बारे आकाशवाणी आउँथ्यो । यही संवाद तथा आकाशवाणीको संकेत या अवधारणा नै आजको सेटेलाइट कम्युनिकेसन र इन्टरनेट हो । टेलिफोन, मोबाइल, रेडियो र वायरलेस टेक्नोलोजीको हामीले भरपुर फाइदा उठाएका छौँ ।
महाभारतमा सञ्जयले धृतराष्ट्रलाई युद्धको Live दृश्यहरू बताउँथे, कथाका अनुसार उनले दिव्य दृष्टि (ईश्वरप्रदत्त अलौकिक शक्ति) प्राप्त गरेका थिए जसले गर्दा टाढैबाट सबै घटनाहरू देख्न सक्थे। यही कथाबाट प्रेरित भई विकास भएको CCTV Camera बाट हामीले पनि संसारको कुनै पनि कुनामा बसेर आफ्नो मोबाइलमा आफ्नो घर, विद्यालय या व्यवसायको गतिविधि निगरानी गर्न सम्भव भएको छ । टेलिभिजन, भिडियो प्रसारण आदि पनि यसै सँग सम्बन्धित विकास हुन् ।
शिव पुराणमा वर्णित भगवान शिवद्वारा गणेशको शिर काटेर हात्तीको टाउको जोडिएको घटना हामी सबैले पढेका या सुनेका छौ । गणेशको टाउको प्रत्यारोपणको कथा वास्तवमै आधुनिक सर्जरी/अंग प्रत्यारोपणको लागि एउटा संकेत थियो ।
इन्द्र, अग्नि, सूर्य आदि देवताहरूका रथ हावामा उड्न सक्थे भन्ने उल्लेख छ। रामायणमा पुष्पक विमानले सीतालाई लंकाबाट अयोध्यासम्म क्षण भरमै पुर्याएको कथा छ । यसले आजको एयरोस्पेस टेक्नोलोजी (जस्तै जेट इन्जिन, ड्रोन, हवाईजहाज, हेलिकप्टर, रकेट आदि) को अवधारणालाई जनाउँछ।
महाभारतमा वर्णित ब्रह्मास्त्र अत्यन्त विनाशकारी अस्त्र थियो, जसले सम्पूर्ण क्षेत्रलाई नष्ट गर्न सक्थ्यो, जसको आधुनिक समानता परमाणु बम हो । त्यस्तै पाशुपतास्त्र अतिप्रचण्ड ऊर्जा युक्त अस्त्र थियो, जसले ठूलो क्षेत्रफलमा क्षण भरमै विनाश ल्याउने सामर्थ राख्दथ्यो । यसको कार्य प्रणाली आधुनिक लेजर या प्लाज्मा हतियार संग मिल्दोजुल्दो छ । एकैपटक हजारौं अस्त्रहरूको वर्षा गर्ने नारायणास्त्रको आधुनिक समानता रूस-युक्रेन युद्धमा प्रयोग भएको क्लस्टर म्युनिसन हो, जसले आकाशबाट विस्तृत क्षेत्रमा एकैसाथ हजारौं बमहरुको वर्षा गर्दछ । प्राचीन इन्द्रजाल र मोहिनी अस्त्रको आधुनिक रूप AI Powered Cyber Attack, होलोग्राफिक प्रोजेक्शन तथा Deepfake Video News हुन् ।
हाम्रा धार्मिक ग्रन्थ तथा पुराणहरु काल्पनिक कथा होइनन्, बरु ती कथाहरू विज्ञान र आध्यात्मको संयुक्त रहस्य हुन्, जसले हाम्रो प्राचीन ज्ञानको उन्नत स्वरूप देखाउँछ। आजको उन्नत प्रविधिको विकास प्राचीन ऋषिहरूका मन्त्र-शक्ति सम्बन्धी वर्णनहरूबाट प्राप्त प्रेरणाको नै परिणाम हो ।
पौराणिक संस्कृतिमा आधुनिक विद्यालय, शिक्षक र विद्यार्थी थिएनन् तर गुरुकुल, गुरु र शिष्य थिए । त्यस्तै त्यो बेला आधुनिक उपचार पद्धति, अस्पताल र डाक्टर थिएनन् तर आयुर्वेद, झारफुक, वैद्यकीय पीठ, वैद्य र धामीझाक्री थिए । आधुनिक फिटनेस र सुधार केन्द्र थिएन तर योग र ध्यान थियो । आधुनिक गायन, नृत्य र संगीत थिएन तर शास्त्रीय संगीत र काव्यशास्त्र थियो । आधुनिक कानुन, संविधान र प्रशासन थिएन तर पाप-पुण्य, कर्म सिद्धान्त, सामाजिक बहिष्कार र मनुस्मृति/चाणक्य नीतिजस्ता धार्मिक-नैतिक नियन्त्रणहरू थिए। आधुनिक Physics र Chemistry को प्रयोग थिएन तर तत्व र रसायनको प्रयोग जादू र तन्त्र विद्यामा भइरहेकै थियो । न्यायालय, Consultancy (परामर्श सेवा), Consultant जस्ता आधुनिक अवधारणाहरूको पौराणिक विकल्प राजसभा, राजगुरु, ज्योतिषी र विद्वान पुरोहितहरू थिए।
त्यो बेला ज्योतिषीहरुको भूमिका ब्यतिगत परामर्शमा मात्र सीमित थिएन । शास्त्रको ज्ञान, ऋषिमुनिको उपदेश, पूर्वजहरूको अनुभव, ग्रह-नक्षत्रको अवलोकन, पशु-पक्षीको व्यवहार, वनस्पतिको अवस्था र प्राकृतिक लक्षणहरूको अध्ययन गरेर उनीहरूले प्राकृतिक विपत्ति, महामारी, मौषम आदि जस्ता विभिन्न विषयमा भविष्यबाणी समेत गर्दथे ।
